लण्डन टावर ब्रीज: इतिहास, इञ्जिनियरिङ र आधुनिकता

लण्डनको चहलपहल र आधुनिकताको बीचमा उभिएको ऐतिहासिक संरचना हो लण्डन टावर ब्रीज। २०२२ पछि अहिले दोश्रो पटक यस पुल लाई नजिकै बाट नियाल्न पाएँ । ह्ल्याण्ड बाट आउनुभएको बिष्णु दाई लाई घुमाउन र आफै पनि घुम्न भनि दुर्गा दाई संगै ३ जना पुगेका थियौ । यो केवल पुल मात्र नभएर एक अद्वितीय अनुभव हो । यहाँ मेरो यात्रा र यससँग सम्बन्धित केही रोचक तथ्यहरु सेयर गर्दैछु ।
खुल्ने र बन्द हुने अद्वितीय संरचना:

टावर ब्रीजको एक रोचक विशेषता भनेको यसको तलको भाग खुल्ने र बन्द हुने प्रणाली हो। ठूला जहाजहरू आउँदा यो पुलको तल्लो भागलाई खोलिन्छ, जसले ती जहाजहरूलाई थेम्स नदी पार गर्न सहज बनाई दिन्छ। अझै पनि दैनिक रूपमा करिब ४०,००० भन्दा बढी मानिस र सवारी साधन यसबाट ओहोरदोहोर गर्छन्।

मलाई सबैभन्दा चाखलाग्दो कुरा त के लाग्यो भने, लण्डन टावर ब्रीज करिब १३० वर्षअघि स्टीम हाइड्रोलिक प्रणाली प्रयोग गरी यो पुल सञ्चालन गरिन्थ्यो। कोइला बालेर बाफ उत्पन्न गरिन्थ्यो, जसले हाइड्रोलिक दबाब सिर्जना गर्थ्यो र पुलका भारी भागहरूलाई उठाउँथ्यो। यसलाई चाहिने समयमा केवल एक मिनेटमै खोल्न सकिन्थ्यो, जुन त्यो समयको इञ्जिनियरिङ दृष्टिकोणबाट अत्यन्त प्रभावकारी थियो। यो पुरानो प्रणाली हेर्नका लागि त्यहाँ एक संग्रहालय पनि छ।
१८९४ मा बनेको यो पुल Victorian युगको निर्माण शैलीको उत्कृष्ट उदाहरण हो। यसले आधुनिक शहरको चमकबीच पनि आफ्नो मौलिकता कायम राख्न सफल छ।

टावर ब्रीजमा दुई टावरहरूबीचको मञ्चमा पुराना इञ्जिनहरू र ऐतिहासिक फोटोहरू सहितको संग्रहालय छ। यहाँ पुरानो यन्त्रहरूले कसरी काम गर्थे र पुल कसरी निर्माण गरियो भन्ने जानकारी दिन्छ। यसले त्यो समयको कठिन श्रम, कला, र प्रविधि देखाउछ ।

लण्डन टावर ब्रीज एउटा साधारण पुलभन्दा बढी रहेछ। यो पुलले लण्डन शहरको संस्कृति, इतिहास र आधुनिकताको संगमलाई सजीव राखेको छ। मेरो भ्रमणको अनुभव र यसका ऐतिहासिक र इञ्जिनियरिङ पक्षले यो पुललाई अझ नजिकबाट चिन्ने मौका दिएको छ। यदि तपाईं लण्डन जानुहुन्छ भने, यो ब्रीजको भ्रमण गर्नु अवश्यै सार्थक हुनेछ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *